तीन विकास बैंक र तीन फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

सफल खबर संवाददाता

बुधबार, ०२ फागुन २०८०, १४ : ०९
तीन विकास बैंक र तीन फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ ।

मुक्तिनाथले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै सप्तकोशी विकास बैंक सञ्चालक समिति र सीईओलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पनि स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएकाले सचेत गराइएको बैंकले जनाएको छ ।

सप्तकोशीका सीईओले कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८ सय ४६ रुपैयाँ जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले साउन र भदौमा सीडी रेसियो ९० प्रतिशत बढी गराएकाले थप २ लाख ४२ हजार जरिवाना गरिएको छ । त्यसैगरी प्रोग्रेसिभ फाइनान्सले चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रक्रिया अपनाइ जोखिमपूर्ण कर्जा दिएको पाइएकाले सीईओ र सञ्चालक समितिलाई सचेत गराउँदै उपयुक्त निर्देशन दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सुदपयोगिता सुनिश्चित नगरी महर्जन बिजनेस एसाोसिएट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकाले सञ्चालक समिति र कार्यकारी प्रमुखलाई उपयुक्त निर्देशन दिइएको छ ।

त्यस्तै गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले सीईओलाई सेचत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस