छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २९ माघ २०८०, १४ : १५
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्यूठान, कपिलवस्तु, रुपन्देही, धादिङ र महोत्तरी जिल्लामा दुर्घटना भएका हुन् ।प्यूठानको माण्डवी गाउँपालिका-१ देविस्थान डाँडास्थित सडकमा रा.१ क ७७३ नम्बरको जेसीबीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय ठग बहादुर घर्तीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिका-११ बढेगाँउस्थित सडकमा हाल नम्बर नखुलेको अटो र लु.५६ प ४८९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महाराजगंज नगरपालिका-१ पिपरी बस्ने ३६ वर्षीय उदयराज रैदासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई सुमित्रा पोलिक्लिनिक महाराजगंजमा उपचारको लागि पठाइएको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । 

उता रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा लु.७३ प ६५९८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१३ बदेलपोखरी बस्ने ५४ वर्षीय राज कुमार थापाको मृत्यु भएको    छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका-२  स्थित सडकमा बा.४ ख ३५५९ नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 

यत महोत्तरीको बर्दिबास नगरपालिका-१ स्थित सडकमा ना.५ ख ५०१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।