माओवादी केन्द्रीय समिति बैठक सुरु, अभियानमाथि समीक्षा हुने

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १२ : १७
माओवादी केन्द्रीय समिति बैठक सुरु, अभियानमाथि समीक्षा हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको बैठक सोमबारसम्म चल्ने छ । बैठकमा चार महिने विशेष रूपान्तरण अभियान सम्बन्धमा समीक्षा हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।

सापकोटाका अनुसार आजको बैठकमा प्रदेश इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट पेस गर्ने कार्यतालिका रहेको छ । यस्तै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको स्थिति, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे बैठकलाई ब्रिफिङ गर्नेछन् ।

‘बैठकको एक मात्र एजेन्डा अभियानको समीक्षा गर्ने रहेको छ । अध्यक्षले समग्र पार्टीको अवस्था, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । प्रदेश इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्टिङ गर्नुहुनेछ’, उनले भने ।

कार्यसम्पादनका आधारमा नेताहरूको कार्य विभाजन हुने हुँदा यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ । अध्यक्ष प्रचण्डले अभियानमा सहभागी नभएका र कार्यसम्पादनमा कमजोर देखिएका नेताहरूलाई कारबाही गर्ने बताइसकेका छन् । भदौ १६ देखि पुस १६ सम्म माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गरेको थियो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले समीक्षात्मक रिपोर्टमाथि समूहगत छलफल नहुने जानकारी दिए । टिप्पणी गर्न चाहनेका लागि नाम टिपाएर बहस गर्न समय उपलब्ध गराउन सकिने उनले बताए ।

केन्द्रीय समिति बैठक लगत्तै माओवादीले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन बोलाएको छ । शनिवार सकिएको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले मस्यौदा समायोजन गरी पदाधिकारी बैठकले अन्तिम रूप दिने म्यान्डेट दिएको थियो ।