सवारी दुर्घटना ५ वर्षभित्र ५० प्रतिशतले घटाउँछौ : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १६ : ०७
सवारी दुर्घटना ५ वर्षभित्र ५० प्रतिशतले घटाउँछौ : मन्त्री श्रेष्ठ

काठमाडौं। बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बताएका छन् ।

बिहीबार हेटौंडामा बागमती प्रदेशको १० वटा जिल्लामा एकसाथ सञ्चालन हुने ट्राफिक सप्ताह २०८० को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

 

उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिको अधिकतम् प्रयोग गर्न प्रदेश सरकारले विशेष बजेटको व्यवस्था गर्ने बताए । उनले आ.व. २०८०/०८१ का लागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू खरिदको प्रक्रिया अघि बढाएको पनि बताए ।

उनले दुर्घटनाको उच्च जोखिम भएका सडकहरूमा ५ वर्षभित्र सिसिटीभी जडान गरिसक्ने भन्दै त्यसका लागि प्रारम्भिक सर्भे सम्पन्न भई क्यामेरा खरिद प्रक्रिया अघि बढेको जानकारी गराए ।मन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला मन्त्रालयले समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए।

उनले आगामी वर्षदेखि ट्राफिक व्यवस्थापनलाई सुदृढ एवं सहज बनाउन यातायात व्यवस्था कार्यालय, सडक कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्था, आम सडक प्रयोगकर्ता, सञ्चार माध्यम र सरोकारवालाहरुलाई समेटेर एकीकृत कार्ययोजना सञ्चालन गरिने बताए ।

उनले सबैभन्दा बढी दुर्घटना मानवीय कारणबाट हुने भन्दै चालकको दक्षता अभिवृद्धि एवं चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि बताए । त्यस्तै, समयानुकुल सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन परिमार्जन गर्न आफुले पहल गर्ने मन्त्री श्रेष्ठको भनाई छ ।

मन्त्री श्रेष्ठले माध्यामिक तहको पाठ्यक्रममा ट्राफिक शिक्षा राखेर सवारी दुर्घटना हुनबाट बचाउन जिम्मेवार नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस