काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको एक वर्षको अवधिका कानून निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएको बताएका छन् ।
आजबाट सुरु भएको संसद्को तेस्रो अधिवेशनमा मन्तव्य राख्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् । विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको उनले उल्लेख गरेका छन् ।
यस्तो छ संसद्मा सभामुखको सम्बोधनको पूर्णपाठ
प्रतिनिधिसभाको तेस्रो अधिवेशन सुरु भएको यस अवसरमा म माननीय सदस्यज्यूहरुलाई हार्दिक स्वागत गर्दछु । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण थलो हो । संसदीय प्रणालीमा संसदको काम कानून निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानून बनाइ सहयोग गर्ने पनि हो ।
विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु । ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएका छन् । चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनैपर्छ ।
विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसदमा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ । संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं ।
संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतमाथि छलफल गर्दैछौं । संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनता सबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे