ठमेलमा चिनियाँ नागरिक मृत भेटिए

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १४ : ३५
ठमेलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।

प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

सोह्रखुट्टे प्रहरीका एक अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस