प्रधानमन्त्री कप क्रिकेट : अपराजित पुलिस र आर्मीबिच आज उपाधि भिडन्त

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, ०८ : ०५
प्रधानमन्त्री कप क्रिकेट : अपराजित पुलिस र आर्मीबिच आज उपाधि भिडन्त

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

पुलिस क्लब लिग चरणको खेलमा पहिलो हुँदै फाइनलमा पुगेको हो । आर्मी क्लबले भने लिग चरणको खेलमा दोस्रो हुँदै फाइनलमा पुगिससँगको भिडन्त पक्का गरेको हो । लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान थियो ।

प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए । लिग चरणमा पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भएको थियो । जारी प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्ने पुलिस एकमात्र टोली हो । तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कुल १८ अंक बटुलेको थियो ।

आर्मी क्लबले भने लिग चरणमा आफूले खेलेका नौमध्ये सात खेलमा सफलता हात पारेको थियो । दुई खेलमा आर्मी क्लब पराजित भएको थियो । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले तीन विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेका थिए । तालिकामा दोस्रो हुने क्रममा आर्मी क्लबले १४ अंक बटुलेको थियो ।

लिग चरणको खेलमा सर्वाधिक कुल स्कोर बनाउने टोलीको सूचिमा आर्मी दोस्रो र पुलिस क्लब चौथो स्थानमा रहेका थिए । लिग चरणमा सर्वाधिक स्कोर बनाउने टोली भने मधेस प्रदेश थियो । मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको थियो ।

यसैगरी आर्मी क्लबले मधेस प्रदेशविरुद्धको खेलमा तीन सय २० रन बनाएको थियो । मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो । पुलिस क्लबले भने बागमती प्रदेशविरुद्धको खेलमा आठ विकेट गुमाएर दुई सय ८२ रन जोडेको थियो ।

यसैगरी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा आर्मी क्लबका विनोद भण्डारी तेस्रो स्थानमा रहेका छन् । उनले लिग चरणको खेलमा कुल तीन सय ४९ रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा मधेस प्रदेशका अनिल शाह र दोस्रो स्थानमा बागमती प्रदेशका आशुतोष घिरैया छन् । अनिलले तीन सय ८६ र आशुतोषले तीन सय ८२ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस