बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, १० : २१
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री  प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्।  बिहीबार बिहान राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक विकासका निम्ति विश्वविद्यालयहरुले साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परता देखाउनु पर्ने बताए। 

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए। राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्नेमा जोड दिए। 

प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताए।‘नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ। मेरो अपेक्षा त्यही छ,’ उनले भने। 

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिए। 

विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास दिलाउँदै प्रधानमन्त्रीले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रम व्यवस्थित तुल्याउन सरकारकोतर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोग गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस