साउदी अरबले गर्‍यो १० हजार आप्रवासी कामदारलाई देशनिकाला

एजेन्सी

आइतबार, १४ माघ २०८०, १८ : २३
साउदी अरबले गर्‍यो १० हजार आप्रवासी कामदारलाई देशनिकाला

काठमाडौँ । साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको सङ्ख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् ।

साउदीले अवैध (अलेखबद्ध) रूपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीव्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ हजार जनालाई पक्राउ गरेको हो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानुन उल्लङ्घन गरेको छ । चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानुन उल्लङ्घन गरेका छन् ।

साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सूचना अनुसार जनवरीसम्म ५५ हजार ७ सय ५६ जनालाई पक्राउ गरिसकेको छ । ४३ हजार जनालाई निष्कासन गर्नको लागि सम्बन्धित देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्राचार गरिएको जनाएको छ ।

रियाद स्थित नेपाली दूतावासका अनुसार साउदी रोजगारदाताहरूले नेपाली कामदारको भिसा नवीकरण नगरिदिने, समयमा नपठाइदिने र बिना भिसा काममा लगाइदिने भएकोले कामदारहरू कानुनी परिबन्दमा पर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस