नेपाल-भारत सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छः मन्त्री साउद

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, २० : ००
नेपाल-भारत सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छः मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताएका छन्।

भारतको ७५औँ गणतन्त्र दिवसका असरमा नेपाल-भारतमैत्री समाजद्वारा आज आयोजित कार्यक्रममा उनले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्‍याइने धारणा राखे।

मन्त्री साउदले भने, ‘दुई देशबीचको सन् १९५० को सन्धि र सीमा बहुआयामिक विषय भएकाले जनताका हित हुनेगरी वस्तुगत र व्यावहारिक भएर निर्णयमा पुग्नुपर्छ।’ दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उनले दुवै देशका सीमाक्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औँल्याए।

परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि भएका भेटघाट र भ्रमणमा भारतीय नेताहरू र नागरिकमा नेपाल र नेपालीप्रति सहृदय देखेको बताउँदै मन्त्री साउदले सुस्ता र कालापानीका विषयमा पनि भारतीय पक्षले हार्दिकताकासाथ कार्यदलमार्फत काम ठोस रूपमा अघि बढोस् भन्ने मनसाय आफूले पाएको बताए।

उनले भने, ‘नेपाल र भारत एउटै सांस्कृतिक विरासतमा रहेका मुलुक हुन्। दुई देशबीच सदियौँ पुरानो अन्योन्याश्रित सम्बन्ध छ। भाषा, भूगोल र संस्कृतिले जोडेको छ, यो सम्बन्ध समृद्धि, विकास र शान्तिका लागि प्रयोग गरिनुपर्छ।’

विगत ७५ वर्षमा आर्थिक विकास र समृद्धिका हिसाबले भारत विश्वका अन्य देशका लागि आदर्शकै रूपमा रहेको बताउँदै मन्त्री साउदले दुवै छिमेकी मुलुक आपसी हितका आधारमा सम्बन्धलाई थप अनुपम बनाएर अघि बढिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस