प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १३ : ०२
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिलो ब्याटिङ रोजेको कर्णाली प्रदेशले ४२.५ओभरमा अलआउट हुनुअघि एक सय ७१ रन बनाएको हो ।

कर्णाली प्रदेशका लागि ओपनर ब्याट्सम्यानद्वय रवीन्द्र शाही र निश्चल रावलले ६३ रनको साझेदारी गरे । निश्चलले अर्धशतकीय पाली खेल । रनआउट पेभेलियन फर्किनुअघि उनले ५० रन बनाए । उनले एक सय सात बलको सामना गरी ६ चौका पनि हिर्काए ।

कप्तानसमेत रहेका अर्का ओपनर रवीन्द्र भने ४० रन बनाउँदै आउट भए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ३५ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान अर्जुन घर्तीले पनि टोलीको खातामा २३ रन थपे ।

विकेटकिपर ब्याट्सम्यान अर्जुनले ३४ बलमा दुई छक्का र एक चौका हिर्काए । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । विपिन शाही चार र हिमांशु शाही आठ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

प्रकाश जैसी पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । दीपेन्द्र रावत तीन रन बनाउँदै आउट भए । दिनेश अधिकारीले तीन रन बटुले । युनिस सिंहले खातासम्म खोल्न सकेनन् । दिवान पुनले पनि पाँच बलमा तीन छक्काको मद्दतले २० रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो ।

पुलिस क्लबका बलर सागर ढकालले तीन विकेट लिए । उनले ९.५ ओभरमा ४८ रन खर्चिएका थिए । ललित भण्डारीले पनि दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस