धादिङ। धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत आफ्ना चार जना संरणकर्मीलाई सम्मान गरेको छ।
समितिको साधारण भेलाका अवसरमा शनिबार नीलकण्ठ–५ स्थित महेन्द्रोदय कालिका माध्यमिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा रामहरि शर्मा नेपाल, बलराम ढुङ्गाना, दुर्गाप्रसाद रिमाल र मसिना पौडेल छन् ।
सम्मानित व्यक्तित्व नेपालले तत्कालीन महेन्द्रोदय कालिका प्राथमिक विद्यालय स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।साथै उनले सोही विद्यालयमा प्रधानाध्यापक भई लामो समय सेवा गरेका थिए । विद्यालयमा निम्नमाध्यमिक तथा माध्यमिक तहको पठनपाठन शुरूवात गराउन उनले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेका थिए ।
धादिङको समग्र शैक्षिक एवं प्राज्ञिक उन्ननयका लागि लामो समय व्यतीत गरेका समाजसेवी नेपाल पछिल्ला दिनमा जिल्लाको वन क्षेत्रको संरक्षणमा जुट्दै आएका छन् ।
कार्यक्रममा नीलकण्ठ–५ का वडा सदस्य राजाराम ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका अधिकृत दीपक पुडासैनी तथा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर ढुङ्गानाले सम्मानित व्यक्तिलाई सम्मानपत्र प्रदान गरेका थिए ।
साविकको खाल्टे गाउँ विकास समितिका वडा नं ४ र हाल नीलकण्ठ–५ मा रहेको सो सामुदायिक वन समिति विसं २०५७ गठन भई वन संरक्षणमा सक्रिय हुँदै आएको छ । करिब एक सय ९५ हेक्टरमा फैलिएको सो वन जिल्लाकै उत्कृष्ट वनभित्र रहेको जनाइएको छ ।
सो अवसरमा नीलकण्ठ–५ का वडा सदस्य राजारामले स्थानीय विकास निर्माणमा आफूले राजनीति विचारभन्दा माथि उठेर सेवा प्रदान गर्दै आएको बताए । वन समितिका अध्यक्ष किशोरले वन क्षेत्रका संरक्षणमा स्थानीय उपभोक्ता नै चनाखो बन्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १२ : २१
लेखकबाट थप