काठमाडौँ । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो ।
पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताए । उनले नगरपालिकाले अहिले पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको जानकारी दिए ।
उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए । नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको उनको भनाई थियो । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्त्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने जिकिर गरे । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानुनहरू नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनले बताए ।
उनले भने, ‘अहिलेको परिस्थितिमा जसले जुन निकायले त्यो फाइल अध्ययन गर्छ उनीहरूले बुझिदिनुपर्छ की यो देशकै सम्पत्ति हो । हाम्रो हो भन्ने भावना बुझ्नुपर्छ । हेर्न र अध्ययन गर्न वर्षौँ लगाएपछि उपाय हुँदैन । पदाधिकारीले पनि जागरूकताका साथ हेर्नुपर्छ । कर्मचारीतन्त्रमा ढिलासुस्तीले गर्दा ढिलो भएको छ । अब ढिलो हुँदैन । आफ्नो कार्यकालमा पूरा गरेर नै छोड्छु ।’
यता, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको सम्पदाको सहर भएको बताए । नले पनौतीमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको बताए । मूर्त र अमूर्त गरी पनौतीमा मात्रै ७० बढी सम्पदाहरू रहेकाले यो सहर एउटा खुला सङ्ग्रहालय रहेको उनको भनाई थियो । उनले स्वर्ग लोकको राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरूले भरिपूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, ११ : ४६
लेखकबाट थप