एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १० : ४४
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा महासचिव घनश्याम भुसालले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सम्मानित नेता झालनाथ खनालले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा हुनेछ ।

सो पार्टीले यही माघ दोस्रो साता बोलाएको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाएको छ ।माघमा हुने विधान सम्मेलनले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।

राष्ट्रिय सभा निर्वाचनको समीक्षा  

यसैबिच आज बस्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनबारे समेत समीक्षा गर्ने नेताहरूले बताएका छन् । माघ ११ गते १९ पदका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका २ सहित सत्ता गठबन्धनका १९ उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाहेक एमाले, राप्रपा, जनमत लगायतका उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनका उम्मेदवार जिताउन सत्ता गठबन्धनका शीर्ष नेताले अपिल गरिसकेका छन् । तर राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएसँगै सत्ता गठबन्धनका ठुला दल नेपाली कांग्रेस र माओवादीसँग एकीकृत समाजवादी असन्तुष्ट बन्न पुगेको छ ।

‘राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कांग्रेस र माओवादीले हेपेको महसुस भएको छ । हामीले पाउने ३ सिट पनि नदिएको भन्दै पार्टीभित्र चर्को असन्तुष्टि छ’, एकीकृत समाजवादीका एक पदाधिकारीले असन्तुष्टि पोख्दै भने, ‘कांग्रेस–माओवादीको चालढाल र अभिव्यक्ति हेर्दा सुन्दा गठबन्धनभित्रै गुटबन्दी गरेजस्तो देखिन्छ ।’ यसबारेमा सचिवालय बैठकमा अध्यक्ष माधव नेपालसँग जवाफ मागिने ती नेताको भनाइ छ । ‘अध्यक्षसँग अवश्य पनि जवाफ त मागिन्छ’, उनले भने, ‘गठबन्धनमा हाम्रो प्रस्तुति कमजोर भएको हो वा उनीहरूले नै हेप्न खोजेका हुन् रु त्यसबारे छलफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस