सरकारविरुद्ध लड्न नेता तथा कार्यकर्तालाई काँग्रेस सभापति देउवाको यस्तो निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०७५, १९ : ३१
सरकारविरुद्ध लड्न नेता तथा कार्यकर्तालाई काँग्रेस सभापति देउवाको यस्तो निर्देशन

सुरक्षा र न्यायालयसहित कर्मचारीतन्त्रलाई पार्टीकरण गर्न सरकार लागिपरेको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका नेता, कार्यकर्तालाई संगठित हुन निर्देशन दिनु भएको हो ।
काँग्रेस निकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्नेमा जोड दिनुभयो । सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेकोे दावी गर्नु भयो ।
सभापति देउवाले काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दावी पनि गर्नु भयो । प्रमुख प्रतिपक्षको रुपमा काँग्रेसको भूमिका कमजोर देखिएको भन्दै आलोचना भईरहेका बेला सभापति देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सभापति देउवाले अवकाश प्राप्त कर्मचारीहरुको अनुभव राष्ट्र निर्माणमा लगाउन आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस