६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १४ : ३८
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए । उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे । 

 

सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो । हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको उनले तर्क समेत गरे । 

 

अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढवा पाउने विश्वास समेत व्यक्त गरे ।अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया दिनुहोस