विश्वभर बढे कोरोना संक्रमित, सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०८०, ०८ : ५४
विश्वभर बढे कोरोना संक्रमित, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या बढेको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार पछिल्लो चार हप्तामा कोभिड-१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले बढेको छ । 

डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।

डिसेम्बर १७ सम्ममा कोभिड-१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

कोभिड-१९ का एक लाख १८ हजार भन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ । 

डब्लूएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ ।  यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड-१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्ने जस्ता विषय समावेश छन् ।

यता छिमेकी मुलुकमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । नेपालमा कोभिडको संक्रमण बढेपछि सतर्कता अपनाउन भनिएको छ । 

 

प्रतिक्रिया दिनुहोस