संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १८ : ४६
संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संघीय संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले शनिबार सीतापाइलामा आयोजना गरेको बहुउद्देश्यीय भवन शिलान्यास तथा केन्द्रीय समितिको विस्तारित बैठकमा सम्बोधन गर्दै उनले विद्यालय शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘तपाईँहरू धेरैलाई संघीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ । नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन र संघीय शिक्षा विधेयक संसद्बाट पारित गराउन पहल हुन्छ । यो ऐन सरकारको उच्च प्राथमिकतामा छ ।”

सो विधेयकमा शिक्षकका जायज माग सम्बोधन गरिने र विद्यालय शिक्षालाई थप सबल बनाइने प्रधानमन्त्रीको भनाइ छ । ‘‘तपाईँ शिक्षकले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दबाब दिनुभयो । यसले सरकारलाई सहयोग पुगेको छ,” प्रधानमन्त्रीले भने, “तपाईँहरूले अहिलेको मस्यौदामा जुन सुझाव दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव माग सम्बोधन गरिनेछ ।”

सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, नारायण दाहाललगायत नेताहरूले सामाजिक अभियन्ताका रूपमा रहेका शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज सुधारको अगुवाइ गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस