छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, १३ : ०२
छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम, आठबिसकोट नगरपालिका(१० पिरिकोटस्थित सडकमा सोही नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुको लागि राहत सामग्री लिएर गइरहेको रा १ द १४ नम्बरको ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–१० नाउला बस्ने ४६ वर्षीय लोक बहादुर शाही समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ९ जनाको नगर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यता बाराको निजगढ नगरपालिका–९ सिंगौल गेटस्थित सडकमा प्र १–०५–००१ प ५४९७ नम्बर र बा ९७ प ९४४ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बा ९७ प ९४४ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रदिप लामा र प्र १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका–३ पौराई बस्ने ३१ वर्षीय बुद्ध बहादुर बल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सामुदायिक प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बा ९७ प ९४४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

डडेलधुराको अमरगढी नगरपालिका–२ आईतबजारस्थित सडकमा सु प प्र ०४–००१ च १८८ नम्बरको जिप सडकको नालामा पल्टिई बुधबार साँझ दुर्घटना हुँदा जिपमा सवार अमरगढी नगरपालिका–८ बस्ने ४० वर्षीय दान बहादुर ओलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको सोही अस्पताल भइरहेको छ भने अन्य १ जनालाई उपचारको लागि गेटा आँखा अस्पताल धनगढी कैलाली पठाइएको छ ।

त्यसैगरी धनुषा, धनुषाधाम नगरपालिका–७ कान्छी बजारस्थित सडकमा ना ४ ख ४१५२ नम्बरको ट्याङ्करले लु ८६ प ८४०९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने ३० वर्षीय सरोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।