बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, ०८ : ००
बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो ।

‘बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने । छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

गत मङ्सिर २९ गते बालिकालाई उनकी सानिआमाको घर लगेर दबाब दिएर विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।

पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उनले बताए । उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस