२८ दिनभित्र मेलम्चीको पानी पुन: काठमाडौं ल्याउने समितिको दाबी

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, ११ : १८
२८ दिनभित्र मेलम्चीको पानी पुन: काठमाडौं ल्याउने समितिको दाबी

काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाडौंमा पानी ल्याउने दाबी गरेको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने दाबी गरेको हो । 

 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले निकालेको विज्ञप्तिमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख छ ।

 

सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र दुई सिफ्टमा काम गरी बढीमा २८ दिनभित्र पानी सुरुङमा पठाउने प्रवक्ता पन्तले जानकारी दिए ।

पथान्तरणपश्चात मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने व्यहोरा उपत्यकाबासीलाई जानकारी गराइन्छ ।

गत असारदेखि बन्द मेलम्ची खानेपानी आयोजनाको पानी अझै काठमाडौं आउन सकेको छैन । आयोजनाको बाँधमा धमिलो पानी र बाढी आउन थालेपछि साढे दुई महिनाका लागि मेम्चीको पानी बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस