यु–१९ राष्ट्रिय बास्केटबल आजदेखि

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, ०८ : २९
यु–१९ राष्ट्रिय बास्केटबल आजदेखि

काठमाडौ । नेपाल बास्केटबल संघको आयोजनामा आजदेखि समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिता सुरु हुँदैछ । 

पुरुषमा २० तथा महिलामा ५ टिमको सहभागिता रहने राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक एवं प्रतियोगिता संयोजक विकास शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

पुरुष टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलाको प्रतिस्पर्धा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ ।

दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष-महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल पुस १० गते हुनेछ ।

एडुक्वेस्ट नेपालको सहयोगमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख खर्च हुने आयोजकले जनाएको छ ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले कोभिडपछि बास्केटबलको गतिविधिले विस्तारै लय समाटेको बताउदै संघले विशेष गरी उमेरसमूहको प्रतियोगितालाई जोड दिएको बताए ।

समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराईले समृद्धिले खेलकुदलाई प्राथमिकता दिएकै कारण बास्केटबल प्रतियोगिता आयोजनामा सहकार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस