छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०८०, १४ : ५६
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएकाे छ । पाँचथर, फिदिम नगरपालिका-४ गणेमान चोकमा मे.१च ६००८ नम्बरको पिकअपबाट लडेर पिकअपमा सवार हिलिहाङ गाउँपालिका-५ सुभाङ बस्ने ४८ वर्षीय प्रेम संग्रौलाको शनिबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बासगढी नगरपालिका-९ लक्ष्मणा चोकमा भे.१ ख ३५५९ नम्बरको बसको ठक्करबाट साईकल यात्री गुलरीया नगरपालिका-१ खैरापुर बस्ने ७० वर्षीय हेलुवा थारूको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा प्र.२-०३-००१ ख ५०९२ नम्बरको टिपरले प्र.२-०३-००४ प ७९०२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ४० वर्षीया कृष्ण माया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा विरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको एलएस न्युरो परवानिपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ सुब्बाकुनामा भे.१ क ११२२ नम्बरको बसले भे.३ प ९७४० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिट बस्ने २६ वर्षीय मनोज सुनारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१४ बेलानीस्थित सडकमा लु.५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका-७ त्रिवेणी बस्ने ४८ वर्षीय सुरज कुमार कोहारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, आदर्शकोतबाल गाउँपालिका-३ हरनहिया चोकमा प्रदेश-२-०३-००१ त ४६०६ नम्बरको ट्रयाक्टरले बा.७६ प ८७०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक आदर्शकोतवाल गाउँपालिका-४ हरनहिया बस्ने ४५ वर्षीय राम एकवाल प्रसाद यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यरो वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, माडी नगरपालिका-१ गर्दीमा बा.प्र.०३ ०४ प ८९१७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक माडी नगरपालिका-२ बस्ने ६० वर्षीय जीव लाल लुइटेलको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।