बाराको सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर १ जना घाइते

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, १६ : ३४
बाराको सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर १ जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले विपक्षीले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो ।

विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको काफ्लेको भनाइ छ ।

गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि शिक्षक र कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस