राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रभावित हुन नदिन पहल गर्छु : ऊर्जामन्त्री बस्नेत

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १४ : २५
राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रभावित हुन नदिन पहल गर्छु : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न नपाउँदा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । ४० मेगावाटको उक्त आयोजनाको शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरीक्षण गरेका छन् ।

आयोजना निरीक्षणपछि मन्त्री बस्नेतले पछिल्लो समयमा निर्माण प्रगति सन्तोषजनक नै रहेको भन्दै नदीजन्य सामग्री उत्खननमा देखिएको समस्या समाधान गर्न माथिल्लो तहबाट आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताए । निर्धारित समयमा निर्माण सम्पन्न गर्न पनि उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

ठेकेदार कम्पनीहरुले हालको ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभाव हटेमा आगामी १५ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत छ । बाँध, मुख्य सुरुङ, विद्युत्गृहलगायतका संरचनाहरुको निर्माण भइरहेको छ । ६.३ किलोमिटर मुख्य सुरुङमध्ये ५.६ किलोमिटर खनिसकिएको छ भने सुरुङलाई पूर्ण रुपमा कंक्रिट लाइनिङ गर्नुपर्ने छ । विद्युतृगृहको सिभिल निर्माण कार्यसँगै उपकरण जडान पनि भइरहेको निर्माण कम्पनीले जानकारी दिए ।

आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुंगा, गिट्टी र बालुवाको अभावमा निर्माण नै रोकिने अवस्था देखिएको छ । निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने गरी आईईइमार्फत स्थानहरुको तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस