नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अधिकृत बस्नेतविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १३ : ४४
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अधिकृत बस्नेतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर जागिर आएको आरोपमा विशेष अदालतमा भ्रष्टाचाको मुद्दा दायर गरेको छ ।

राज्यका सुरक्षा निकायहरुमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाले ती निकायहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र छानविन गरी कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद्‍ क्षेत्रीय कार्यालय, प्रयागराज,भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

बस्नेतले अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को (१) बमोजिमको कसुर भएकोले बस्नेतलाई सोही ऐनको दफा १६ (१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस