काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक आयुक्त किशोर सिलवालले भ्रष्टाचारको जालो व्यापक भएकाले प्रभावकारी रूपमा नियन्त्रण हुन नसकेको बताएका छन् ।आयोगले शनिवार आयोजन गरेको भ्रष्टाचारविरुद्धको २१ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिलवालले यस्तो बताएका हुन् ।
'भ्रष्टाचारप्रति जति चासो छ, त्यति नियन्त्रणमा सक्रियता देखिँदैन । भ्रष्टाचारप्रति जति आक्रोश व्यक्त भए पनि नियन्त्रणमा हार्दिक समर्थन छैन,' सिलवालले भने,'देशमा फैलिएको भ्रष्टाचारको जालो व्यापक छ । भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्नेहरूको सञ्जालभन्दा अनैतिकहरूको सञ्जाल ठूलो छ । त्यसकारण भ्रष्टाचार नियन्त्रण जति प्रभावकारी हुनुपर्ने हो त्यति हुन् सकेको छैन ।'
सरकारी निकायका पदाधिकारीहरूले जिम्मेवारी तथा समयमा निर्णय लिन नसक्दा राज्य र नागरिकलाई अपूरणीय क्षति पुगेको उनको भनाइ छ ।'सरकारी निकाय तथा जिम्मेवार पदाधिकारीहरूले जिम्मेवारी तथा उत्तरदायित्त्व नलिने, समयमा निर्णय लिन डराउने, निर्णय पन्छाउने, निश्चित स्वार्थ बाझिरहेको समूहको हितमा निर्णय गर्ने, समयमा निर्णय नगर्दा राज्य र नागरिकलाई अपूरणीय क्षति भएको छ । यस्ता कार्य गर्नेहरूलाई जिम्मेवार बनाउन ढिलो भइसकेको छ,' सिलवालले भने ।
दैनिक प्रशासनिक निर्णयबाट हुने कार्यलाई पनि मन्त्रिपरिषद्मा लगेर नीतिगत निर्णय गराउने प्रवृत्ति बढेको उनले बताए ।'दैनिक तथा प्रशासनिक निर्णयबाट हुने कामहरू मन्त्रिपरिषद्मा लैजाने र नीतिगत निर्णयको नाममा आफ्नो जिम्मेवारी पन्छाउने गलत प्रवृत्ति सार्वजनिक पदाधिकारीहरूमा देखिएको छ,' सिलवालले भने, 'नीतिगत निर्णयको दायरालाई प्रष्ट रेखाङ्कन गरी कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलापबाट कोही पनि उम्किन नहुने गरी आवश्यक व्यवस्था मिलाउन जरुरी भइसकेको छ ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधनको आवश्यकता रहेको तथा यी दुवै ऐन राष्ट्रियसभाबाट पारित भई हाल प्रतिनिधिसभाबाट संशोधनको पर्खाइमा रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ मंसिर २०८०, १२ : १४
लेखकबाट थप