भरतपुरमा ‘समुदायसँग मेयर’ स्वास्थ्य कार्यक्रम शुरु

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, १३ : २७
भरतपुरमा ‘समुदायसँग मेयर’ स्वास्थ्य कार्यक्रम शुरु

चितवन ।  भरतपुर महानगरपालिकाले समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा आज कार्यक्रमको उद्घाटन गरिएको हो । महानगर प्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट बन्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन् । यस कार्यक्रममा समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरिने उनले बताइन् । उनले भनिन्“ थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।“

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष बिष्णु महतो, महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, महानगरका स्वास्थ्य विज्ञ सल्लाहाकार डा. भोजराज अधिकारी लगायतले बोलेका थिए। यस कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिकाका जेष्ठ नागरिक, अशक्त, अपाङ्गहरुको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ । महानगर भित्र रहेका ६८ वर्ष माथिका करिब २५ हजार जेष्ठ नागरिकहरुलाई घरदैलोमा पुगेर मधुमेह, उच्चरक्तचाप, उचाई र तौल लिईने छ ।

पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागू गरिने भरतपुर महानगर जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख दिपक सुवेदीले जानकारी दिए । उहाँका अनुसार बाँकी १५ वडामा दोस्रो चरणमा कार्यक्रमहरु सञ्चालन गरिने छ । पहिलो र दोस्रो चरणमा २५÷२५ दिन स्वास्थ्यकर्मीहरु जनताको घर दैलोमा पुग्ने छन् । यस क्रममा आएका जनताका समस्याहरुलाई समाधानका लागि शिविर मार्फत स्वास्थ्य समस्या समाधान गरिने उनले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममा एक सय जना स्वास्थ्यकर्मी परिचालन हुने छन् । अभियानका क्रममा घरघर सामान्य औषधि समेत लिएर जानेछन् । नसर्ने रोगको विषयमा बढी ध्यान दिईने छ ।

अहिले करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताए । महानगर भित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० वटा स्वस्थ्य उपचार केन्द्रहरु रहेका छन् । वडा नम्वर २४ का वडा अध्यक्ष रामवहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घर घर जाने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य परीक्षणका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षिय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस