मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १४ मंसिर २०८०, १९ : १७
मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र उनको पाँच महिने छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।