बिमस्टेक सदस्य राष्ट्रहरूबीचको कनेक्टिभिटीमा मोदीको जोड

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १९ : ०५
बिमस्टेक सदस्य राष्ट्रहरूबीचको कनेक्टिभिटीमा मोदीको जोड

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक सदस्य राष्ट्रहरूबीचको कनेक्टिभिटीमा जोड दिएका छन् ।

काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले  शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै केही गर्न नसक्ने बताउँदै सदस्य देशहरूबीच कनेक्टिभिटीमा जोड दिए । खास गरी व्यापार, यातायात, जनता(जनताबीच र डिजिटल कनेक्टिभिटी आवश्यक रहेको उनको भनाइ छ ।
उत्तरमा हिमालयदेखि दक्षिणमा बंगालको खाडी तथा हिन्द महासागरसम्म फैलिएका बिमस्टेक सदस्यहरू सबै विकासशील राष्ट्र रहेको भन्दै उनले आ-आफ्नो देशमा शान्ति, सुरक्षा र खुशी सबैको प्रमुख एजेन्डा भएको बताए ।

मोदीले बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । आर्थिक समृद्धिका लागि युवा र प्रविधिलाई जोड्नु पर्ने बताउँदै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशका विभिन्न विश्व विद्यालयमा छात्रवृत्तिको प्रस्ताव अघि सारे । उनले बिमस्टेक क्षेत्रका देशका विद्यार्थीका लागि नालन्दा लगायतका विश्वविद्यालयमा छात्रवृत्तिको अफर गरेका हुन ।

प्रधानमन्त्री मोदीले अधिंकाश कृषिप्रधान तथा जलवायु परिवर्तनको असरबाट जुधिरहेकाले भारतले स्मार्ट कृषिबारेमा एक सम्मेलन गर्ने पनि जानकारी दिए ।

त्यस्तै,सबै विमस्टेक सदस्यहरुलाई इण्डिया मोबाइल कन्फरेन्समा सहभागीतको निमन्त्रणा गरे ।

बौद्ध धर्मको चर्चा गर्दै उनले भने, ‘बौद्ध धर्मले यो क्षेत्रलाई जोड्छ । त्यसैले हामी यही अगस्त २४ मा बौद्ध सम्मेलन गर्दै छौँ जसमा सबै विमस्टेक सदस्यलाई सहभागीताको आह्वान गर्दछु ।’

बंगालको खाडीदेखि उच्च हिमालसम्म फैलिएको बिमस्टेक क्षेत्र बाढी, भूकम्प, आँधीजस्ता प्राकृतिक प्रकोपको जोखिममा रहेको भन्दै यसको सामना गर्न संयुक्त प्रयास आवश्यक रहेको मोदीले बताए । प्राकृतिक प्रकोप उद्धारका लागि भारतले संयुक्त सैनिक अभ्यास आयोजना गरिएको उनले जानकारी दिए । आगामी सेप्टेम्बरमा हुने बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स र स्थल सेना प्रमुखहरूको सम्मेलन गर्न लागेको मोदीको भनाइ छ ।

उनले ब्लू इकोनोमिक क्षेत्रमा रहेका युवाहरुलाई सहयोग गर्न तयार रहेको पनि जिकिर गरे ।

हामी मध्ये कुनै त्यस्ता देश छैनौँ जसले अपराधिक समस्या नभोगेको होस्,’ उनले भने, ‘हामीले यसैले कुनै कानुनी संयन्त्रको विकास गर्नुपर्छ । यसको लागि हाम्रा कानुन निर्माता विशेष महिला सांसदबीचको सम्पर्क तथा सम्बादको वातावरण विकास गर्नुपर्छ ।’
 

उनले बिमस्टेकको चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा नेपाल सरकार र प्रधानमन्त्री ओलीलाई विशेष धन्यवाद दिए । भारत आगामी दिनमा पनि काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस