वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, १३ : ४८
वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान

काठमाडौं। नेपाल वायुसेवा निगम उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानबाट सम्मानित भएको छ । भारतमा लामो समयदेखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार-प्रसार गर्दै आएको मुसाफिर मिडिया हबले निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानबाट सम्मानित गरेको हो । 

 

मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्समध्ये सन् २०२३ को लागि निगमलाई  छनोट गरेको थियो ।१६ नोभेम्बर २०२३ मा दिल्लीमा आयोजित एक कार्यक्रममा सम्मान घोषणा गरिएको थियो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्मान प्राप्त हुँदा खुसी लागेको बताए । यसले अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।निगमले हाल अन्तर्राष्ट्रियतर्फ चारवटा जहाजबाट दिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, दमाम, बैंकक, हङ्गकङ्ग, मलेसिया, जापानलगायत दश गन्तव्यमा उडान भरिरहेको छ। 

त्यसैगरी आन्तरिकतर्फ दुइटा ट्वीनअटर जहाजबाट ताप्लेजुङ, ईलाम, भोजपुर, फाप्लु, थामखर्क, खानिडाँडा, रुकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ, रेसुङ्गालगायत १५ गन्तव्यमा उडान भरिरहेको छ । 

दशैं तिहारजस्ता चाडवाडमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगन्जमा राखेर रुकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा जस्ता दुर्गम क्षेत्रमा समेत उडान भर्दै आएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस