एक वर्षपछि सी र बाइडेनबीच आज भेट हुँदै

एजेन्सी

मंगलबार, २८ कार्तिक २०८०, ०९ : ०८
एक वर्षपछि सी र बाइडेनबीच आज भेट हुँदै

एजेन्सी  । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच आज संयुक्त राज्य अमेरिकामा भेटवार्ता हुने ह्वाइट हाउसले पुष्टि गरेको विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरूबीच एक वर्षपछि पहिलो पटक क्यालिफोर्नियामा हुने बैठकमा व्यापार, ताइवान र उनीहरूबीचको तनावपूर्ण सम्बन्ध व्यवस्थापनका विषयमा वार्ता हुनेछ।

क्यालिफोर्नियामा हुने एपेक शिखर सम्मेलनका अवसरमा बाइडेन र सीबीच करिब एक वर्षमा पहिलो पटक भेट हुने भएको हो ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन-पियरेका अनुसार दुवै नेताबीच थुप्रै द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाको दायराका साथै प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने तरिकाबारे कुराकानी हुनेछ । 

सी-बाइडेन शिखर सम्मेलन बेइजिङ, वासिङ्टन र अन्य स्थानमा शीर्ष अधिकारीहरूबीच हालैका महिनाहरू भएका बैठकहरूको शृङ्खलापछि हुन लागेको हो । यसअघि सी र बाइडेनबीच सन् २०२२ नोभेम्बरमा बालीमा भेट भएको थियो । 

आज हुने बैठकको उद्देश्य दुवै मुलुकबीचको चिसिएको सम्बन्धलाई ‘स्थिर’ बनाउने रहेको भन्दै एक वरिष्ठ अमेरिकी अधिकारीले ठूलो परिणामको आशा नगर्न चेतावनी दिए । 

शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ का बारेमा विचार विमर्श गर्ने बेइजिङले सोमबार बताएको छ । “दुवै राष्ट्राध्यक्षले चीन-अमेरिकासँग सम्बन्धित रणनीतिक, सामान्य र दिशात्मक मुद्दाका साथै वैश्विक शान्ति र विकाससँग सम्बन्धित मुख्य मुद्दाहरूमा गहन वार्ता गर्नुहुनेछ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “चीन प्रतिस्पर्धासँग डराउँदैन तर हामी चीन-अमेरिका सम्बन्धलाई प्रतिस्पर्धाका सन्दर्भमा गरिने परिभाषाको विरोध गर्छौँ ।”

प्रवक्ता माओले सोमबार अमेरिकासँग चीनको हितलाई नोक्सान पुर्‍याएर आफ्नै सरोकारलाई जोड दिनुको सट्टा चीनको तर्कसङ्गत चासो र वैध विकास अधिकारलाई इमानदारीपूर्वक सम्मान गर्न आग्रह गरे। 

“अमेरिकालाई चीन परिवर्तन गर्न चाहँदैन र अमेरिकाले पनि चीनलाई आकार दिन वा परिवर्तन गर्न खोज्नु हुँदैन”, उनले भने ।

प्रतिक्रिया दिनुहोस