काठमाडौं। नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोगका आधारमा नमूना जिल्लाहरू कायम गर्ने भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरू माग बमोजिम उपलब्ध गराई नमूना जिल्ला कायम गर्न लागिएको टेलिकमले जनाएको छ ।
यस्ता जिल्लाका सबै बस्तीहरू, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरूमा गुणस्तरीय दूरसञ्चार सेवाहरू प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने टेलिकमको योजना छ ।यस्तै, देशका सबै जिल्लाहरूमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।
पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोर्खा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउन लागेको हो ।
हाल सेवाका दृष्टिबाट नमूनाका रुपमा कायम गर्न लागिएका जिल्लाहरूमा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स तथा सेवाहरू कायम हुनेगरी नेटवर्क स्थापित गरिने कम्पनीले जनाएको छ ।
यी स्थानहरूमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताको लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिनेछ । ती जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव वस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर सेवा उपलब्ध गराइने छ ।
सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजनासमेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुने कम्पनीले जनाएको छ ।
नमूना जिल्लाहरूमा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मतसम्भार, महसुल भुक्तानी जस्ता सेवाहरू प्राप्त गर्न कम्पनीका कार्यालयमा उपस्थित नभइ फोनबाट कल सेन्टरमार्फत सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था गरिनेछ ।
यसमा सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोधन गरी सेवा सञ्चालन गर्ने कार्य हुनेछ । विनाअवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकायहरू विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका निकायहरूसँगको आवश्यक समन्वयमा पूर्वाधार निर्माण र सेवा विस्तारका कार्य अगाडि बढाइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो
नेपाल टेलिकमको नेटवर्कमा समस्या
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने