असोजमा विद्युतीय माध्यमबाट ४५ खर्ब ५१ अर्ब बढीको कारोबार

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १४ : १६
असोजमा विद्युतीय माध्यमबाट ४५ खर्ब ५१ अर्ब बढीको कारोबार

काठमाडौं । चालू आर्थिक वर्षमा विद्युतीय प्रणालीमार्फत हुने कारोबार रकम बढेको छ । चालू आर्थिक वर्षको तेस्रो महिना असोजमा मात्रै १० करोड २२ लाख ७९ हजार ८१६ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ५१ अर्ब १४ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ४३ खर्ब ६२ अर्ब ४६ करोड रुपैयाँ विद्युतीय माध्यमबाट कारोबार भएको थियो । भदौमा उक्त कारोबार ३६ खर्ब ८९ करोड रुपैयाँको भएको थियो । अघिल्ला दुई महिनाको तुलनामा असोजमा विद्युतीय प्रणालीबाट हुने कारोबार बढेको छ ।

अघिल्लो वर्षको तुलनामा भने विद्युतीय माध्यमबाट हुने कारोबार घटेको छ । गत वर्षको असोजमा ७ करोड ३ लाख ७४ हजार १४८ पटकको लेनदेन गर्दा ४६ खर्ब ५ अर्ब ३१ करोड ७ लाख रुपैयाँको कारोबार भएको थियो ।

असोजमा सबैभन्दा बढी आरटीजीएस प्रणालीबाट ३ करोड २७ लाख ७२ हजार ८३९ पटक लेनदेन हुँदा २७ खर्ब ५९ अर्ब ७९ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै एटीएमबाट २ करोड २६ लाख २२ हजार १७० पटकको लेनदेन हुँदा ५ खर्ब ३० अर्ब ४० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । ईसीसी माध्यमबाट ४ खर्ब ७७ अर्ब ९१ करोड १ लाख, आईपीएस प्रणालीबाट २ खर्ब ७७ अर्ब ८२ करोड, कनेक्ट आईपीएसबाट २ खर्ब २७ अर्ब ७५ करोड कारोबार भएको छ ।

डेबिट कार्डबाट १ खर्ब ११ करोड, क्रेडिट कार्डमार्फत ९६ अर्ब ५ करोड, प्रिपेड कार्डबाट ३६ अर्ब २१ करोड, इन्टरनेट बैंकिङमार्फत २२ अर्ब ७९ करोड, मोबाइल बैकिङमार्फत ११ अर्ब ८० करोड, ब्रान्चलेस बैकिङबाट ५ अर्ब ७६ करोड, वालेटमार्फत १ अर्ब ८२ करोड, क्यूआर पेमेन्टमार्फत १ अर्ब ५७ करोड, पीओएसबाट ७१ करोड ३ लाख र ई-कमर्श प्रणालीमार्फत ६० करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस