कोप-२८ सम्मेलनमा मौसम परिवर्तनको आन्दोलनको नेता भएर जान्छौ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १३ : ४१
कोप-२८ सम्मेलनमा मौसम परिवर्तनको आन्दोलनको नेता भएर जान्छौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युएईमा हुन लागेको जलवायु सम्बन्धी सम्मेलन (कोप-२८) मा नेपाल मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाने बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी भएको जिकिर गरे ।

जलवायु परिवर्तनले नेपालमा परेको असरबारे विश्व समुदायलाई जबरजस्त अपिल गरेको र त्यसको आधारमा राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालको भ्रमण गरेको चर्चा गरे । ‘राष्ट्र सङ्घका महासचिवको भ्रमण मेरै निम्तोमा भयो । उनले के बोल्नुभएको छ तपाई हामी सबैले सुनेका छौँ ।’

उनले कोप-२८ मा नेपाल माग्ने भिखारी नभएर जलवायु परिवर्तनको आन्दोलन गर्ने नेताको रूपमा त्यहाँ जाने र हक अधिकारका लागि सङ्घर्ष गर्ने बताए ।‘अब छिट्टै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुँदैछ । त्यहाँ हामी अहिले माग्ने भिखारीजस्तो भएर जाँदै छैनौँ, मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाँदैछ नेपाल । र त्यहाँ हामीले आफ्नो हक अधिकार स्थापित गर्न सङ्घर्ष गर्दैछौं ।’

जलवायु परिवर्तनको असरबारे विश्वका विभिन्न फोरममा गएर आवाज उठाउने, मिटरब्याज पीडितका लागि कानुन निर्माण, नागरिकताविहीन नेपालीको मागको सम्बोधन जस्ता विविध राम्रा काम आफ्नो पालामा गरेको जिकिर गरेका उनले सबै बुर्जुवाले स्वीकार्न नचाहेको गुनासो गर्दै जनताको बीचमा त्यसलाई पुर्‍याउने दायित्व पार्टी र आफ्नो भएको उल्लेख गरे ।

उनले माओवादी विशेष रूपान्तरण अभियान निकै दूरगामी महत्वको राष्ट्र बचाउने समाजवादी आन्दोलन सृष्टि गर्ने प्रतिगमनकारी क्रान्तिका सबै दुष्साहसलाई परास्त गर्ने एउटा महान अभियानको सुरुवात भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस