बौद्धिक सम्पत्ति संरक्षणबारे युवा व्यवसायीलाई चेम्बरको प्रशिक्षण

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, ११ : ४०
बौद्धिक सम्पत्ति संरक्षणबारे युवा व्यवसायीलाई चेम्बरको प्रशिक्षण

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ । मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तर्राष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा बिहीबार आयोजना गरिएको प्रशिक्षणमा करिब ३ दर्जन युवा उद्यमीले सहभागिता जनाएका थिए । 

 

बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबाहक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास लगायतका विषयमा युवा उद्यमीहरूलाई प्रशिक्षण दिए ।

बौद्धिक सम्पत्तिका धनीको कानुनी व्यवस्था, राज्यले दिने अधिकारलाई स्थापित गराउन युवा उद्यमीहरूलाई प्रशिक्षण दिइएको अध्यक्ष राजेन्द्र मल्लले बताए । बौद्धिक सम्पत्तिको अधिकारबारे उद्योग व्यवसायी, सरकारी निकायका सरोकारवाला पदाधिकारी, सञ्चार माध्यम सबै सचेत हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहयोग गर्नका लागि बौद्धिक सम्पत्तिको अवधारणा आएको हो । नेपालमा वि.सं १९९३ साल देखि नै पेटेन्ट, डिजाइन र ट्रेडमार्क कानुन प्रचलनमा आएको हो । नेपाल चेम्बर अफ कमर्सले पनि बौद्धिक सम्पत्ति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।