जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, ०७ : ५४
जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

काठमाडौ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रहेको रेलमार्ग निर्माण सुरु गर्न लागिएको छ। 

विभागले जारी गरेको सूचनामा  रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ ।

विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माणकार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो ।

विभागले मङ्सिर १५ गतेपछि पनि बालीनाली लगाएमा त्यसको क्षतिपूर्ति नदिनेसमेत जनाएको छ। 

भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ। पहिलो चरणमा जयनगरबाट कुर्थासम्म, दोस्रो चरणमा कुर्थाबाट भङ्गहासम्म निर्माण पूरा भई रेल सञ्चालनमा आइसकेको छ भने तेस्रो चरणमा भङ्गहाबाट बर्दिबाससम्म निर्माण हुन लागेको छ। 

प्रतिक्रिया दिनुहोस