नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, १४ : २३
नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।बेलायतमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानीको अवसर रहेको उनको भनाइ थियो ।

नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयलाई उल्लेख गर्दै अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत आयोजनामा लगानीको थप अवसर आएको तर्फ ध्यानाकर्षण गराए ।

 

बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जाको माग बढ्दा नेपालको जलविद्युत्‌का लागि थप बजार सृजना भएको पनि अध्यक्ष ढकालले बताए ।यसै गरी नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए ।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज हुने उनको विश्वास छ ।

बेलायतस्थित नेपाली राजदूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले लगानीका अवसरहरूबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस