प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई आज सार्वजनिक गरिँदै

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, ०९ : ५४
प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई आज सार्वजनिक गरिँदै

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ। सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो।

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए।

गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस