पर्यटन प्रवर्द्धन गर्न मेची-महाकाली साइकल यात्रा

रासस

शनिबार, ११ कार्तिक २०८०, ११ : ३२
पर्यटन प्रवर्द्धन गर्न मेची-महाकाली साइकल यात्रा

झापा । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची-महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गरे ।

मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकल यात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ ।सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रूपमा मेची-महाकाली साइकल यात्राको आयोजना गरिएको बताए ।

यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीय स्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए । काँकडभिट्टाबाट झापाको पश्चिमी सिमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उनको भनाइ छ ।

पूर्वी नाका काँकडभिट्टाबाट आज बिहान ८ बजे सुरु भएको सो यात्रा आज सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस