एनआरएनए फुट्यो, आरके शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा हुँदै !

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १६ : ३१
एनआरएनए फुट्यो, आरके शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा हुँदै !

काठमाडौँ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा  देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन भएको छ । निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणा गर्न लागेका छन् ।

राजधानीको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको एनआरएनएहरुको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको हो । एनआरएनएका उपाध्यक्ष डीबी क्षेत्रीले महेश श्रेष्ठसमेतको समर्थनमा आरके शर्मालाई नयाँ अध्यक्ष चयन गर्न लागिएको बताए । 

निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ । शुक्रबार मात्रै तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए । जसअनुसार निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने आन्तरिक सहमति भएको थियो । तर, सो सहमति विपरीत बद्री केसीलाई निर्वाचन कमिटीले शनिवार नै शपथ गराइएसँगै एनआरएनएमा फुटको अवस्था आएको हो ।

शनिबार केसी पक्षधरहरूबाहेकको बैठकले ११ औँ विश्व सम्मेलन सकेर नयाँ कमिटी घोषणा गर्ने तय भएको हो । जसअनुसार आर्थिकसहित पारित गर्नुपर्ने प्रतिवेदनहरु पारित गरेर नयाँ कमिटी घोषणा हुनेछ । नयाँ कमिटीलाई १० औँ महाधिवेशनबाट चयन भएका कुल आचार्य र रबिना थापाको पनि समर्थन रहेको दाबी गरिएको छ ।विवादका बीच एनआरएनएका पदाधिकारीले लिए शपथ (निर्वाचित कार्यसमितिको सूचीसहित)

यसैबीच आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनमा लगेको टिप्पणी गरेका छन् । शनिबार विवादका बीच नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण गरिएसँगै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।‘एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी मन्जन गरिएको कथित शपथको कुनै औचित्य नहुने यो एनआरएनए अभियानको मर्म विपरित हुने छ । यसरी शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजन तर्फ लगेको छ’, शर्माले भने । 

शर्माले निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको पनि बताए । ‘यस्तो अवस्थामा एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु’, उनले भने ।  

शनिबार शपथपछि केसीले भने निर्वाचन पारदर्शी भएको दाबी गरेका थिए ।  केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको उनको भनाइ थियो ।उनले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने पनि बताए । यससँगै एनआरएनए तीन वटा हुने भएको छ । १० औँ महाधिवेशनबाटै विनोद कुँवरको नेतृत्वमा अर्को एनआरएनए अस्तित्वमा छ । 

प्रतिक्रिया दिनुहोस