युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, १२ : ५२
युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

रुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गरेका क्रेमलिनले शुक्रबार बताएको छ । “पुटिनले पर्मबाट फर्किने क्रममा रोस्तोभ–अन–डनमा रुसी सशस्त्र फौजको मुख्यालयको भ्रमण गरेका हुन्”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ ।

युराल्सस्थित पर्म सहरमा पुटिनले बिहीबार बिताएका थिए।सेना प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनमाथिको आक्रमणको अवस्था बारेमा पुटिनलाई जानकारी गराएका थिए । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो ।

युक्रेनले रुससँगको युद्धमा पहिलोपटक अमेरिकाले दिएको एटीएसीएमएस लामो दूरीको मिसाइल प्रयोग गरेको मङ्गलबार घोषणा गरेपछि पुटिनले सैन्य मुख्यालय भ्रमण गरी सेनाप्रमुखसँग भेट गरे  ।बुधबार पुटिनले एक सय ६५ किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलले युद्धमा कुनै प्रभाव नपार्ने भन्दै यसले युक्रेनको ‘पीडा’ लाई बढाउने मात्र बताए । 

प्रतिक्रिया दिनुहोस