समाजवादी मोर्चा एमालेविरुद्ध बनेको हो, गुटबन्दी त्यागौँ : पृथ्वीसुब्बा गुरुङ

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १५ : ०६
समाजवादी मोर्चा एमालेविरुद्ध बनेको हो, गुटबन्दी त्यागौँ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादी मोर्चा एमालेविरुद्ध बनेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशका निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

एमालेलाई धेरैले निशाना बनाइरहेको भएकाले गुटबन्दी त्यागेर काम गर्न पनि उनको निर्देशन छ ।उनले भने, ‘काँग्रेसभित्र निर्वाचन प्रणाली परिवर्तन हुनुपर्छ भन्ने माग भइसक्यो त्यो भनेका आन्दोलनको उपलब्धि र संविधानमाथि चौतर्फी हमला छ । भारतले त्यस बेलामा पनि आफूले भनेजस्तो संविधान बनाएन भनेर नाकाबन्दी लगाएको थियो । त्यसैले हामीमाथि ठूलो चुनौती छ, त्यसको सामना गर्नको लागि एमाले बलियो हुनुपर्छ । एमाले आन्तरिक रूपमा पनि बलियो हुनुपर्छ चुनाव एउटा प्रक्रिया थियो सकियो अब पार्टीको काममा लाग्नुपर्छ ।’

अन्य पार्टीका नेताहरूलाई पार्टीमा आकर्षण गर्न केन्द्रित हुन पनि उनले निर्देशन दिएका छन् ।गुरुङले भने, ‘माओवादीको पार्टी सदस्यभन्दा समानुपातिकमा कम भोट आयो रे कस्तो पार्टी र सदस्य बनाएको हो ? माओवादी सबैभन्दा कमजोर यही गण्डकी प्रदेशमा हो । एकीकृत समाजवादी पनि यही छ । जनयुद्धको बेलामा पनि हामीले राम्रो काम गरेको भएकाले माओवादीको प्रभाव पर्न दिएका थिएनौँ । जब माओवादीले गण्डकीबाटै जनयुद्ध थालेको थियो ।’

नेकपा हुँदादेखि नै पार्टीभित्रको विवादमा पनि फरक विचार राख्ने समेट्दै विभाजनको सामना गरेको स्मरण गरे ।उनले भने, ‘अब बाँकी रहेका एकीकृत समाजवादीलाई पनि एमालेमा ल्याउनुपर्छ । माओवादीका धेरै छैनन् । जसपाको पनि । समाजवादी मोर्चा सबै पार्टीभित्र गइरहेको पहिरो रोक्ने चेकड्याम मात्रै हो । समाजवादी मोर्चा न बिदेसी शक्तिसँग केन्द्रित छ न काँग्रेसतिर, त्यो हाम्रो विरुद्ध निशाना बनाइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस