इजरायल घटना: ५५ नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो, दुई सय बढीले स्वदेश फर्किन नाम टिपाए

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १२ : ११
इजरायल घटना: ५५ नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो, दुई सय बढीले स्वदेश फर्किन नाम टिपाए

काठमाडौं। इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । इजरायलको पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री एनपी साउदले संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई यस्तो जानकारी दिएका हुन् । 

 

हमासको आक्रमणपछि इजरायलको जोखिमयुक्त क्षेत्रमा बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सुरक्षित स्थानमा सारिएको साउदले जानकारी  दिएका हुन् ।

‘५५ जनालाई हिजो इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।’ समितिलाई जानकारी गराउँदै साउदले भनेका छन्, ‘साथै उत्तरी क्षेत्रमा रहेका फार्म हाउसमा रहेका केही नेपालीहरूलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ । अन्य जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नको लागि निरन्तर पहल गरिएको छ ।’

 

इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्न इजरायल सरकारसँग आवश्यक समन्वय भइरहेको पनि साउदले बताए ।

 

स्वदेश फर्किन चाहनेको लागि अनलाइन रजिष्ट्रेसन शुरू गरिएको र दुई सयभन्दा बढीले नाम टिपाएको जानकारी पनि परराष्ट्र मन्त्रीले गराएका छन् ।परराष्ट्रमन्त्रीले इजरायली राजदूतसँगको छलफलमा तेल अभिवस्थित विमानस्थल सुचारु रहेको र इच्छुक नेपाली फर्किन सक्ने जानकारी गराएको पनि बताएका छन् । 

इजरायली राजदूतले द्वन्द्वग्रस्त अमिमी गाउँमा रहेका १७ जनाबाहेक अन्य नेपालीहरू गम्भीर प्रभावित नभएको जानकारी गराएको उनले बताए । बंकरमा रहेका नेपालीको विवरण तयार गरी उनीहरूको स्वदेश फिर्तिको लागि सहजीकरण र प्रबन्ध गर्न राजदूतसँग कुराकानी गरेको पनि पराष्ट्रमन्त्रीले जानकारी गराए। राजदूतले इजरायलले सबै क्षेत्रमा नियन्त्रण जमाउँदै गएको र परिस्थिति सामान्यीकरण बन्दै गएको पनि समितिका सदस्यलाई जानकारी गराएका छन् । 

प्रतिक्रिया दिनुहोस