इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा असोज २२ गतेदेखि हुने

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १३ : ४१
इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा असोज २२ गतेदेखि हुने

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले असोज २२ गतेदेखि प्रवेश परीक्षा गर्ने भएको छ । शुल्क विवादका कारण लामो समयदेखि रोकिएको स्नातक तहतर्फको प्रवेश परीक्षा अनिश्चित बनेको थियो । 

डीन प्राडा शशीधर राम जोशीले एक सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तह (बीई तथा बि आर्क) को प्रवेश परीक्षा असोज २२ गतेदेखि सञ्चालन गरिने बताए।

 

यसका लागि असोज १७ देखि १९ गतेसम्म फाराम भर्ने समय थप गरिएको छ । यसअघि फाराम भरेका विद्यार्थीहरूले पुनः फाराम भर्नु नपर्ने डीनको कार्यालयले जनाएको छ।संस्थानले शुल्क बढाउने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । जसले गर्दा भदौका लागि तोकिएको प्रवेश परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो । 

शुल्क विवाद बढ्दै गएपछि विद्यार्थी संगठनहरू र त्रिवि तथा डीन कार्यालयबिच सहमति भएको थियो । तर, उक्त सहमति अनुसार कार्य अगाडि नबढेपछि भर्ना प्रक्रिया नै अन्योल बनेको थियो । 

यो विषयमा असोज १५ गते विद्यार्थी संगठनहरू र डीन कार्यालयबिच अर्को सहमति भएको छ । उक्त सहमति अनुसार पुरानै शुल्कमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाउने भन्नेछ । सोही आधारमा डीनको कार्यालयले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस