कर्मचारी सहभागी भए हुने कार्यक्रममा मन्त्री जान थाले : योगेश भट्टराई

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १९ : ३४
कर्मचारी सहभागी भए हुने कार्यक्रममा मन्त्री जान थाले : योगेश भट्टराई

काठमाडौँ । एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरू अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जाँदा राज्यको साधारण खर्च बढिरहेको बताएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले पछिल्लो ६ महिनायता हरेक दिन मन्त्रीहरू विदेश भ्रमणमा गइरहेको बताए ।

नेपाल सरकारका सचिव, सहसचिवलगायत कर्मचारी सहभागी भए हुने कार्यक्रममा मन्त्री नै जाने गरेको भट्टराईको भनाइ थियो । ‘सन् २०१७-०१८ को भन्दा बढी विदेश भ्रमणहरू भइराखेको छ यो ५–६ महिनामा । जम्बो, जम्बो टोली चाहे त्यो प्रधानमन्त्रीको टोली होस् अथवा मन्त्रीहरूको टोली होस् हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छ । हरेक दिन कुनै न कुनै सचिव विदेशमा छ । हरेक दिन कार्यालयको कुनै न कुनै मान्छे विदेशमा छ, ‘उनले भने, ‘शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउन मिल्ने कतिपय कार्यक्रममा मन्त्री उपस्थित हुने, सचिव जाने गरेका छन् ।’

विदेश भ्रमण अवधि पनि अनावश्यक लामो गरिरहेको एमाले सचिवसमेत रहेका सांसद भट्टराईको भनाइ थियो । ‘३ दिनको कार्यक्रमलाई ७-१० दिनको भ्रमण अवधि बनाउने अनि विदेशमा गएर आफ्नो आफन्त भेट्ने ? साइडलाइन काम गर्ने ? यसले गर्दा हाम्रो अत्याधिक रूपमा साधारण खर्च बढिराखेको छ, फजुल कुरा हो । यसमा यसपटक परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई बोलाएर पछिल्लो ५-६ महिनाको विदेश भ्रमणको स्थिति के छ ? औचित्य के थियो ? हेर्नुपर्छ, ‘उनको माग थियो ।

 

प्रतिक्रिया दिनुहोस