विकसित मुलुकले कार्बन व्यापारको मूल्य बढाउनु पर्छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, २० : १७
विकसित मुलुकले कार्बन व्यापारको मूल्य बढाउनु पर्छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकसित मुलुकले जलवायु परिवर्तनको समस्या सम्बोधनमा गरेका प्रतिबद्धता पालना गर्नुपर्ने बताएका छन् ।

उनले जलवायु परिवर्तनको समस्या सृजनामा खासै भूमिका नरहेको नेपाल जस्ता विकासशील मुलुकको चुनौती सामनाका लागि कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्र भएका मुलुकले गरेका प्रतिबद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका हुन् ।

एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड बैठकमा उनले जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको भन्दै त्यसबाट सिर्जित समस्या तथा चुनौतीको बारेमा प्रस्ट पारेका थिए ।

अर्थमन्त्री महतले कार्बन व्यापारको मूल्य बढाउनुपर्नेमा सहभागीहरूको ध्यानाकर्षण गराए । उनले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् ।

एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा गभर्नरहरूको बिजनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने बताए ।

उनले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान समेत गरे ।

कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा उनले जोड दिए ।

अर्थमन्त्री महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जन तर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए ।

उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा रहेको उनले बताए ।

न्यून आय भएका मुलुकका लागि आर्थिक पुनरुत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तारमा एआईआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले योगदान पुर्‍याउनुपर्ने उनले बताए ।

यस्तै प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत एआईआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनले बताए ।

विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको उनले बताए ।उक्त सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नहुने यथार्थ रहेको भन्दै अर्थमन्त्री महतले उक्त क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिन बैंकले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

एआईआएबीको आठौँ वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधनको उच्च आकाङ्क्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्ट वक्ताको रूपमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस