एनआरएनए उपमहासचिवका उम्मेदवार प्रविन गुरुङद्वारा १२ बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, ११ : १९
एनआरएनए उपमहासचिवका उम्मेदवार प्रविन गुरुङद्वारा १२ बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी प्रविन गुरुङले १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन । सामाजिक सेवा र व्यावसायिक कार्यमा सक्रिय गुरुङले आगामी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने, विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउने लगायतका एजेण्डाहरु अघि सारेका छन ।

आफ्ना एजेण्डाहरु सार्वजनिक गर्दै गुरुङले भने, “मध्यपूर्व, मलेसिया, जापान,कोरिया र युरोपका केही देशको समस्या तथा सम्भावना लगभग एउटै प्रकारका छन । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भईरहेको छ । हामीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ ।”

उनले वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गर्ने, नेपालमा पर्यटकहरु भित्र्याउन प्रबद्र्धन गर्ने र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने एजेण्डाहरु अघि सारेका छन । एनआरएनएमा दोस्रो पुस्ता वा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउने, एनआरएनएको मूल मान्यतालाई कार्यान्वयन गराउने, खेलकुद क्षेत्रको विकास गर्ने र संघको राष्ट्रिय समन्वय परिषद (एनसिसि) मा आबद्ध भएका सबै सदस्यहरुलाई संघको आईसिसी चुनावमा मत हाल्न पाउने व्यवस्थाको लागि पहल गर्ने उनको कार्य योजना छ ।

संघको उपमहासचिव पदमा उठ्नु अघि गुरुङले एनआरएनए कतारको  उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसिसीको सचिव पदमा बसेर सफल कार्यकाल सम्पन्न गरिसकेका छन । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस