विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ?

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, ११ : ५३
विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएका छन् । उनले जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दाबी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए ।

‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्ताबेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन,’ उनले भने, ‘देशभित्र र र देशबाहिर रहेका नेपालीहरूले हामीलाई हेरिरहेका छन् ।

यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ ।’उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेन्डामा छलफल गर्नुपर्ने माग गरे । ‘अब अर्को कार्यसमितिको प्रमुख एजेन्डा नै यिनै अर्थतन्त्र हुनुपर्छ । एकदिन दुई दिन आर्थिक मुद्दामा छलफल हुनुपर्छ । विकास निर्माणका कामहरू ठप्प भएका छन् ।

उद्योगधन्दाहरू ठप्प छन् । उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरूलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ,’ उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले भने, ‘म आग्रह गर्न चाहन्छु कि फराकिलो दृष्टिकोणले यो पार्टीलाई पुनर्निर्माण गर्ने तरिकाले आउने केन्द्रीय समिति बैठकले आर्थिक विकासका मुद्दा, नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने मुद्दालाई, रोजगारको वातावरण सिर्जना गर्ने मुद्दामा छलफल हुनुपर्छ ।’

उनले पार्टीमा सङ्घर्ष गरेका, जेलनेल भोगेका नेताहरु सँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान् व्यक्तिहरूलाई पनि अवसर दिनुपर्ने धारणा राखे । ‘अबको निर्वाचनमा २० लाख मतदाता थपिँदैछन् । सर्वोच्च अदालतको निर्देशनअनुसार प्रवासमा रहेका नेपालीलाई पनि समेट्दा यो सङ्ख्या झन्डै ५० लाख हुन्छ । नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट्र हेर्न खोजेका जमातलाई समेट्ने कांग्रेसको रणनीति के हो ? त्यसका आधारशिला के हुन् ? यो पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ती ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ? हामीले सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता चौधरीले केहि गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरूलाई कन्फ्लिक्ट अफ इन्ट्रेस्टका नाममा पाखा लगाइने गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनको भनाई छ, ‘जीवनभर राजनीति गर्ने मान्छेलाई मात्रै विकास गर्न सक्छ भन्ने दृष्टिकोणलाई अगाडि ल्याइन्छ । मलाइ लाग्छ, यो मानसिकतामा परिवर्तन ल्याउन सकेनौँ  भने आगामी दिनमा झन् कठिनाइ हुन्छ ।’

प्रतिक्रिया दिनुहोस