टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्विरसहित)

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, ११ : २८
टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्विरसहित)

काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्कमा र सभामुख देवराज घिमिरे आयरल्याण्डमा रहेकाले संविधान दिवसको मूल समारोहमा सहभागी छैनन् । समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान जारी भई संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताएका छन् ।

अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए । त्यसैले भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपरेको खड्काको भनाइ छ ।

जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको उनले जोड दिए । टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस